राष्ट्रपति पौडेलले दिए संविधान दिवसको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना दिएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार शुभकामना सन्देशमार्फत् उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरे ।
राष्ट्रिपति पौडेलले संविधानले विभेद र उत्पीडन अन्त्य गरी सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एकजुट हुन प्रेरणा मिल्ने बताए ।
उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको औल्याए ।
यस्तै, सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुm सभामुखलगायतले पनि संविधान दिवसको शुभाकाना दिएक छन् ।