बागमतीको १० जिल्लामा एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण कार्यक्रम
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि प्रदेशको काठमाडौं उपत्यका बाहेक १० जिल्लामा एकैपटक चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणसम्बन्धि कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रम हेटौंडामा आयोजित एक कार्यक्रमबीच प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको उपस्थितिमा सुरुवात गरिएको हो ।
उक्त कार्यक्रमको पहिलो दिन ७३८ जना सवारी चालकहरुले प्रतिबद्धता जनाएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
अभियानमा सवारी चालकहरुलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिबद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रम भएको उनको भनाई छ ।