‘हेटौंडा सम्पदा यात्रा २०८१’ हुँदै

तु खबर संवाददाता
२०८१ आश्विन ४,शुक्रबार १६:०९

मकवानपुर । हेटौंडा एडभेन्चर क्लबले ‘हेटौंडा सम्पदा यात्रा २०८१’ को आयोजना गर्ने भएको छ । कार्यक्रम शनिबार हुन लागेको हो ।

हेटौंडा–७, नागस्वतीमा अवस्थित उक्त क्लबले बागमती प्रदेशको राजधानी हेटौंडा र मकवानपुरगढी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार गर्दै भ्रमण गर्ने उद्देश्यले हेटौंडा सम्पदा यात्राको आयोजना गर्न लागेको जनाएको छ ।

क्लबले पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो । क्लबका अध्यक्ष सुशील सुवेदीले पहिलो पटक धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार–प्रसार गर्दै भ्रमण गर्न लागेको जानकारी दिए ।

उनका अनुसार, सो यात्रा दुईपाङ्ग्रे सवारी साधनको मात्रै प्रयोग गरिनेछ । यात्रामा ६५ वटा मोटरसाइकल तथा स्कुटरमा करिब १३० भन्दाबढी व्यक्तिहरुको सहभागिता रहनेछ ।

मकवानपुरसहित बारा र चितवन जिल्लाबाट पनि यात्रामा सहभागिहरु आउने उनले बताए । यात्रा हेटौंडा–४, पशुपति मन्दिरबाट सुरु भई नगरका भुटनदेवी मन्दिर, पाथिभरा, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर। फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाई मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क हुँदै मकवानपुरगढी दरवार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना मन्दिर, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, मनमोहन पार्क कमाने हुँदै वनदेवी मन्दिरबाट पशुपति मन्दिर हेटौंडा ७ न्यूरेनीमा समापन हुने अध्यक्ष सुवेदीले बताए ।

यात्रामा सहभागी बन्न दर्ता शुल्क रु. तीन सय लाग्नेछ भने आयोजकले एक थान जर्सी उपलब्ध गराउनुका साथै खाजा र खानाको व्यवस्थापन रहेको जनाइएको छ ।