बागमती प्रदेश सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ आश्विन ६,आईतवार ०९:५२

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेश सभा भवन हेटौंडामा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेश हुने संसद् सचिवालयले जनाएको छ ।

शनिबार दिउँसो बसेको प्रदेश सभा अन्तर्गतको कार्यव्यवस्था समितिको बैठकले उक्त कार्यसूची तयार पारेको हो ।

बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको २ वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा विधेयकको प्रतिवेदन संसदमा पेश हुनेछ । बैठक भोलि असोज ७ गतेसम्म संचालन हुने जनाइएको छ ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १६ मा बसेको थियो । उक्त बैठक विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो । त्यसपश्चात स्थगित भएको प्रदेश सभा बैठक डेढ महिनापछि आज बस्न लागेको हो ।