आजबाट जितिया पर्व सुरु

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार १०:०५

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ आजबाट सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने उक्त पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको हो ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख गरिएको छ ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्नेछन् । यस्तै, बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरले जनाएको छ ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्ने जनाइएको छ ।