जितिया पर्वको लागि पोखरीमा नुहाउन गएकी महिलाको डुबेर मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन ७,सोमबार १७:००
सांकेतिक तस्वीर

गौर । रौतहटमा जितिया पर्वका लागि पोखरीमा नुहाउन गएकी एक महिलाको सोमबार डुबेर मृत्यु भएको छ ।

जिल्लाको राजदेवी नगरपालिका वडा नं. ८ लक्ष्मीपुर गाउँमा रहेको पोखरीमा जितिया पर्वका लागि नुहाउन गएकी ४५ वर्षीया गिरिजा देवीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरीको बिओपी बेलविछवा र प्रहरी चौकी बेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले उनको उद्दार गरिएको थियो ।

पोखरीमा डुबेर गम्भीर भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको जनाइएको छ ।

छोराको दीर्घायुका लागि महिलाहरुले जितिया पर्व मनाउने गर्छन । जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने प्रचलन छ । सोही अनुसार उनी गाउँमा रहेको पोखरीमा नुहाउन गएकी थिइन् ।