स्थानीय तह उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने

तु खबर संवाददाता
२०८१ आश्विन १०,बिहीबार १६:५७

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार एक सूचना जारी गर्दै आगामी मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने जानकारी गराएको हो ।

आयोगका सह–सचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको बताए ।

यसैगरी, मंसिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्ने र मंसिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने प्रवक्ता सापकोटाले बताए ।

साथै मंसिर ५ गते नै उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिने प्रवक्ता सापकोटाले बताए ।

यसैगरी, निर्वाचन चिह्न पनि त्यसैदिन दिइने र मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने जनाइएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचार–प्रसारमा रोक गराइने आयोगद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।