कुलेखानी ड्याममा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

तु खबर संवाददाता
२०८१ आश्विन ११,शुक्रबार १७:३९
file-photo

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २, मा अवस्थित कुलेखानी जलविद्युत आयोजनाको ड्याममा पानीको सहत बढेको छ ।

हिजोदेखि आएको अविरल वर्षाका कारण उक्त कुलेखानी ड्याममा पानीको सतह बढेको विद्युत प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत केन्द्र धोसिङ्ग मकवानपुरले जनाएको छ ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

जारी सूचनामा उक्त कुलेखानी ड्याम केही घण्टाभित्रै पानीले भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने भन्दै ड्याम्को ढोका खोल्दा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने उल्लेख गरिएको छ ।

तसर्थ कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न आग्रह गरिएको छ ।

साथै मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत सुरक्षित स्थानको पूर्वतयारी  गर्न जारी सूचना भनिएको छ ।