विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले उक्त निर्णय गरेको कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
उनका अनुसार, बैठकले समसामयिक विषयमा १५ वटा निर्णय गरेको छ । अविरल वर्षाका कारण उत्पन्न घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको बैठकले दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
साथै बैठकले बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन माग गरेको छ ।