दशैं टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

तु खबर संवाददाता
२०८१ आश्विन १३,आईतवार १७:२३

काठमाडौं । यस वर्ष विजया दशमीको साइत असोज २६ गते शनिबार बिहान ११ः३६ बजे उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक  समितिले जनाएको छ ।

त्यस दिन बिहान देवी विसर्जन गरी ११ः३६ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

समितिका अनुसार, विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको हो ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने प्रचलन छ ।