‘उद्दार कार्यमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुहोस्’
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई उद्दारमा प्राथमिकता दिन आग्रह गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै विपद् प्रभावितहरुलाई तत्काल उद्दार, राहत तथा स्वास्थ्य सेवा गर्ने क्रममा यी वर्गका नागरिकलाई विशेष प्राथमिकता राख्न आग्रह गरेका हुन् ।
उनले वर्षाका कारण प्रदेशभित्रका जिल्लाहरुमा क्षति पुर्याएको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरे ।
प्रदेश मातहतका सम्बन्धित निकाय र सबै स्थानीय तहहरूले आपतकालीन स्वास्थ्य टोली तयार राख्न, औषधी र आवश्यक सामग्रीको भण्डार सुनिश्चित गर्न, अस्पतालहरूमा वैकल्पिक शैय्याको व्यवस्था गर्न, तथा पीडित प्रभावितहरूको उपचारका लागि थप शैय्याहरू उपलब्ध गराउन विशेष पहल गर्नु जरुरी रहेको उनले बताए ।
प्रदेश प्रमुख देवकोटाले वर्षा रोकिएपछि पनि हुनसक्ने भूक्षय र पहिरोबाट उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन् ।