भीमफेदी गाउँपालिकाद्वारा बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे विवरण पठाउन आह्वान

तु खबर संवाददाता
२०८१ आश्विन १४,सोमबार १०:०७

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अविरल वर्षाका कारण सिर्जित प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिबारे विवरण संकलन गरी पठाउन आह्वान गरेको छ ।

पालिकाले वर्षाका कारण आएको बाढी–पहिरोलगायत विभिन्न विपद्को घटनाबाट पर्न गएको जनधनको क्षतिबारे विवरण पठाउन भनिएको पालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्राकृतिक प्रकोपबाट पर्न गएको मानवीय क्षति (मृत्यु/घाइते) भौतिक संरचना, कृषिजन्य भूमिको क्षतिबारे सरोकारवालासँग समन्वय गरेर वास्तविक विवरण पठाउन भनिएको हो ।

साथै उनले तीबाहेक अन्य क्षति भए सोको पनि विवरण खुलाई पठाउन भनिएको बताए ।

उपाध्यक्ष श्रेष्ठले असोज १० गतेदेखि असोज १२ गते शनिबारसम्म परेको अविरल वर्षाका कारण बाढी–पहिरो आई देशभर ठूलो जनधन र मानवीय क्षति भएकोमा दुःख व्यक्त गरे ।

उनले अझै विपद्का घटनाहरु आउनसक्ने भन्दै पालिकावासीहरुलाई उच्च सतर्कता अपनाउन समेत अनुरोध गरे ।