मृतकका परिवारलाई एक लाख दिने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोलगायत विपद्को घटनामा परी मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारले विपद्बाट बढी क्षति भएका जिल्लामा गरी दुई करोड ३० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार, विपदबाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० लाख, धादिङ जिल्लालाई ५० लाख, ललितपुर जिल्लालाई ३०, काठमाडौँ जिल्लालाई २०, सिन्धुपाल्चोक जिल्लालाई २० तथा दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र भक्तपुर जिल्लालाई १०/१० लाख रुपैयाँका दरले राहत वितरण गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा रकम प्रदान गर्ने निर्णय गरिएको छ ।
प्रवक्ता लामिछानेले प्रदेश र संघीय राजधानी जोड्ने मार्ग तत्काल खोल्न सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विपद् प्रभावित क्षेत्रमा तथ्याङ्क सङ्कलन, राहत र उद्धारलाई तीव्र बनाइएको उल्लेख गरे ।
साथै प्रदेशका १३ वटा जिल्लाका विपत् व्यवस्थापन कोषमा पाँच/पाँच लाख रुपैयाँका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट कुल ६५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।