बागमती प्रदेश सर्वदलीय बैठकः मृतकका परिवारलाई दुई लाख उपलब्ध गराउने निर्णय

तु खबर संवाददाता
२०८१ आश्विन १५,मंगलवार १०:११

मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढी, पहिरो र डुवानबाट मृत्यु भएकाको परिवारलाई तत्काल राहत स्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा सोमबार साँझ ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकले उत्त निर्णय गरेको हो ।

सर्वदलीय बैठकले विपद्बाट प्रभावित प्रदेशभित्र बसोबास गर्ने परिवारलाई राहत तथा क्षतिपूर्ति स्वरुप प्रति मृतक दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

उनका अनुसार, बैठक बाढी–पहिरोले आवासविहीन भएका प्रभावित परिवारलाई अस्थायी संरचना निर्माणका लागि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

साथै बैठकले तत्काल उद्दार, राहत र पुर्निर्माणमा जुट्ने निर्णय, घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्लास्थित प्रदेश मातहतका कार्यालयहरु मार्फत् बजेट व्यवस्थापन गर्ने निर्णय गरेको उनले बताए ।

सर्वदलीय बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।