विपद्ले २१ जिल्ला प्रभावितः २२४ जनाको मृत्यु
काठमाडौं । असोज १० गतेदेखि १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा गएको बाढीपहिरो लगायत विपद्बाट २१ जिल्ला प्रभावित भएका छन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत् विपद्बाट काठमाडौं उपत्यकासहित २१ जिल्ला प्रभावित भएको जानकारी गराइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले सो बारे जानकारी गराएका हुन् ।
उनले बाढी, पहिरो र डुबानको क्षति र उद्धारको विषयमा जानकारी गराएका थिए । मुख्यसचिव अर्यालले जिल्लामध्ये काभ्रेपलञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित भएको बताए ।
सचिव अर्यालले बाढी, पहिरो डुबानमा परेर २२४ जनाको मृत्यु भएको बताए ।
यस्तै, बाढीपहिरोमा परी अझै २४ जना बेपत्ता भएका छन् भने १५८ जना घाइते भएका छन् ।
बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड, उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति पुगेको अनुमान गरिएको सचिव अर्यालले बताए ।