सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

तु खबर संवाददाता
२०८१ आश्विन १६,बुधबार ०९:२४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई हाइअलर्टमा रहन निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

थप समन्वय र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएका पनि उनले बताए ।

उनले यसअघिको बाढी र पहिरोले मुलुकका धेरै राजमार्गहरू अवरुद्ध रहेको भन्दै पहिरोको जोखिम पनि कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा अनुरोधन गरेका छन् ।