मकवानपुरबाट दुई गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार
मकवानपुर । मकवानपुरबाट दुई गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीबाट हिजो असोज १५ गते मंगलबार दुई गर्भवती महिलाको उद्धार गरिएको हो ।
नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।
उनका अनुसार, इन्द्रसरोवर–३ दाप्राङ घर भएकी सुकिमाया वाईबा र इन्द्रसरोवर–३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुतीका लागि हेलिकोप्टरमार्फत् काठमाडौं पठाएको हो ।
अध्यक्ष पुडासैनीले सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतीका लागि पाँच दिन र चार दिन अगाडि नै डेट पुगिसकेको तर, सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भनरे तत्कालै हेलिकप्टरामार्फत् उद्धार गरेको बताए ।
केही दिन अघि परेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्र भरिएपछि शनिबार बिहान जलाशयको दुई वटा ढोका खोलेर थियो ।
ड्यामको ढोका खोल्दा निस्किएको पानी र खहरे खोलाबाट आएको पानी मिसिएर बाढी जाँदा सिस्नेरीको सबै सडकक सञ्जालको सम्पर्कबाट टुटेको छ । गर्भवतीलाई थप उपचारका लागि सडक सञ्जालबाट अस्पताल लान नसकिएको अवस्थामा गृह मन्त्रालय र पालिकाको संयुक्त सहकार्यमा उनीहरुलाई उद्धार गर्न सफल भएको अध्यक्ष पुडासैनीले बताए ।