हेटौंडामा हुने भनिएको लाईभ सेलो साँझ स्थगित

तु खबर संवाददाता
२०८१ आश्विन १६,बुधबार ११:०८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भनिएको ‘लाईभ सेलो साँझ–२०८१’ स्थगित भएको छ । यही असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको उक्त कार्यक्रम स्थगित गरिएको हो ।

उक्त कार्यक्रम ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रालिको आयोजना हुन लागेको थियो । आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत कार्यक्रम स्थगित भएको जानकारी गराइएको हो ।

उक्त कार्यक्रम आगामी कात्तिक ९ गते हुने गरी स्थगित गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्था संस्थाका प्रोप्राईटर विक्रम लुङ्बाले जानकारी दिए । उनका अनुसार, कार्यक्रमका प्रायोजक र सहयोगी तथा शुभेच्छुक संघ–संस्थासंगको छलफल पश्चात् कार्यक्रम स्थगित गरिएको हो ।

निरन्तर वर्षाका कारण देशव्यापी रुपमा आएको विपत्ति र भौतिक तथा मानवीय क्षतिले सिंगो देश नै शोकमा डुबेको बेला यस्तो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु समय सान्दर्भिक नदेखिएकोले कार्यक्रम स्थगित गरिएको उनले बताए ।

कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क बापत टिकटको १ हजार रुपैयाँ तय गरिएको उनले बताए । उनले भने, ‘कार्यक्रमको लागी जम्मा ६ सय टिकटमा करिब ३ सय टिकट बिक्री भईसक्यो र टिकट खरिद गर्नु भएका दर्शक तथा स्रोतालाई कार्यक्रम स्थगित बारे जानकारी गराएका छौं । जे होस् उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

उनका अनुसार, टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराका साथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रमा मकवानपुरे चर्चित सेलो गायक प्रकाश तितुङ, गायिका सुमिना लो र स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।