कस्तो रहला आजको मौसम ?

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार ०९:२५

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

साथै हाल कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।