गाँजासहित मकवानपुरका युवक पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन १७,बिहीबार १०:३१

मकवानपुर । मकवानपुरका एक युवक अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाँउपालिका वडा नं. २ बस्ने बर्ष २३ को तुलराम डिङडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताएका छन् ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, उनलाई लागूऔषध गाँजा ३ किलो २३६ ग्रामसहित विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

मंगलबार राति मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङस्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा डाँडाबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख २५२ नं. को यात्रुबाहक बसलाई रोकी चेकजाँच गरिएको थियो ।

सो क्रममा बसमा सवार उनको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटाले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध कसुर मुद्धामा दिन १० को म्याद थप अनुमती लिई कानूनी प्रकृया अगाडि बढाइएको छ ।