बाढी–पहिरोले अति प्रभावित स्थानीय तहलाई सहयोग गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढी–पहिरो र डुबानलगायत विपद् अति प्रभावित स्थानीय तहलाई तत्काल राहत र भैपरी आउने खर्चका लागि राहत स्वरुप सहयोग गर्ने भएको छ ।
प्रदेशको शनिबार हेटौंडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले विपद् अति प्रभावित स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
उनका अनुसार, गत बिहीबारदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट अति प्रभावित स्थानीय तहलाई तीन वर्गमा विभाजन गरी राहत रकम विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरेको छ ।
स्थानीय तहमार्फत् नै खर्च गर्नेगरी स्थानीय तह विपद् व्यवस्थापन कोषमा सहयोग रकम निकासा गरिने प्रवक्ता लामिछानेले बताए ।
यस्तै, बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय गरेको पनि प्रवक्ता लामिछानेले बताए ।