हेटौंडा–काठमाडौं जोड्ने फाखेल–हुमाने सडक आज दिउँसोबाट संचालनमा आउने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट दिउँसोबाट संचालनमा आउने भएको छ ।
एक साताअघि आएको अविरल वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्याएका उक्त सडक आज दिउँसोबाट पुनः संचालनमा आउने भएको हो ।
सो सडक अन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आजबाट सवारीसाधन संचालन गर्न लागेको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए ।
फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेको भन्दै उनले अब कुनै ठूलो समस्या नआए आज दिउँसो १ बजेबाट उक्त मार्ग हुँदै काठमाडौं–हेटौंडा जाने–आउने सवारी साधन संचालनमा आउने बताए ।
यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने उनले बताए । उक्त सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको उनले बताए ।