कौशल पाण्डेको बहु आयामिक व्यक्तित्वको चिनारीः ‘स्मृतिका पानाहरू’

सञ्जय साहमित्र
२०८१ आश्विन २०,आईतवार १७:५५

 मकवानपुर । कतिपय मानिसले आफ्नो जीवनमा कुनै परिचय बनाउन पाउँदैन । परिचय बनाउन नपाइकन उसको जीवन व्यतीत हुन्छ र कतिपय मानिस यस्ता हुन्छन् जसका एकभन्दा बढी व्यक्तित्व समाजमा स्थापित हुन पुग्दछन् । एकभन्दा बढी व्यक्तित्व बनाउन सक्ने व्यक्तिलाई बहुमुखी प्रतिभा भनिन्छ ।

बहुमुखी प्रतिभा आज भोलि कम भनिन थालिएकोमा बहु आयामिक व्यक्तित्व भन्न थालिएको छ । एक जीवनमा एकभन्दा बढी आयाम हुनु बहु आयामिक व्यक्तित्व हो । आफ्नो नैसर्गिक जीवन व्यतीत गर्दै अर्थात् रोजीरोटी गर्दै, घरपरिवार धान्दै एकभन्दा पृथक व्यक्तित्व हुनुहुन्छ कौशल पाण्डे । कौशल पाण्डेलाई बहुआयामिक व्यक्तित्व भनिएको छ, मानिएको छ ।

कौशल पाण्डेको पूरा नाम कौशलराज पाण्डे हो । पाण्डेको जन्म वि.सं. २००४ पुस १५ गते पिता रुद्रबहादुर पाण्डे र माता मधुमाया पाण्डेको सन्तानको रुपमा उदयपुर जिल्लाको सिरुवानी तामाडाँडा गाउँमा भएको हो । पाण्डेको न्वारनको नाम डिल्लीबहादुर पाण्डे रहेको बुझिन्छ । पाण्डेको परिवार वि.सं. २०१२ मा उदयपुरबाट धनुषाको ढल्केबरमा बसाईँ सरेको हो । अनि सोही वर्ष ढल्केबरबाट महोत्तरीको किसान नगरमा बसाईँ सरेको देखिन्छ । अनि १२ वर्षपछि त्यहाँबाट पनि रौतहटको हिमाली बासमा पाण्डेको बसाईँ सरेको देखिन्छ । पाण्डे रौतहटमा पुग्दा २० वर्षका भइसक्नु भएको थियो । हिमाली बासबाट पाण्डेको परिवार २०४५ मा हेटौंडा ११ को नवलपुरस्थित सरस्वती खोलामा र केही वर्षपछि हेटौंडा ४ को बुद्धपथमा बसाइँ सरेको देखिन्छ । पाण्डेको भौतिक जीवनको अन्त्य ७५ वर्षको उमेरमा बुद्धपथस्थित निवासमा २०७९ कात्तिक १० मा भएको हो । पाण्डेका एक छोरा प्रशान्तकुमार पाण्डे, एक छोरी नमुना पाण्डे र श्रीमती सकुन्तला पाण्डे हुनुहुन्छ ।

निम्नवर्गीय परिवारमा जन्मनु भएका पाण्डेको जीवन सम्पूर्णतः संघर्षमा बितेको देखिन्छ । यद्यपि संघर्ष गरेर नै कोही अगाडि बढ्ने हो । जसले जीवनमा कुनै संघर्ष गर्दैन उसको जीवनमा ठुला सफलताहरु निकै कम आउँछन् । वास्तवमा संघर्ष नगर्नेले जीवनलाई बुझेका हुँदैनन् पनि । कौशल पाण्डेले आफने जीवनमा अनेक किसिमका संघर्ष गर्नुभयो । यसरी भन्दा उहाँले गरेका संघर्षहरु आफ्ना लागि थिए कि जस्तो लाग्न सक्छ तर होइन, हुँदै होइन । उहाँका संघर्षहरु समाजका लागि, विपन्न समुदायका लागि र देशका लागि थिए । उहाँले असल, सभ्य र सुन्दर समाजको निर्माणको लागि आजीवन सत्कर्म गर्नुभएको देखिन्छ । हालै ‘स्मृतिका पानाहरूः कौशल पाण्डे स्मृतिग्रन्थ २०८१’ प्रकाशित भएको छ । यस कृतिमा पाण्डेको जीवनीको विभिन्न लेखक तथा समकालीनहरुले मूल्यांकन गरेका छन् ।

पाण्डेले आधा दर्जनभन्दा बढी शैक्षिक संस्थामा अध्यापन गराउनु भयो । अध्यापन उहाँको रोजीरोटी मात्र नभएर चेतना विस्तारको माध्यम पनि रहेको देखिन्छ । नेपालमा शिक्षकहरुको पहिलो संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको स्थापना र विस्तारमा पाण्डेको अहम भूमिका रहेको छ । प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म अध्यापन गराउनु भएका पाण्डेले शैक्षणिक जीवनका करिब सबै अनुभूतिहरु प्राप्त गर्नुभएको छ । माध्यमिक तहमा नेपाली विषय लामो समयसम्म अध्यापन गर्नु भएका पाण्डेले माध्यमिक तहमा नेपालमा पहिलो पटक पत्रकारिता विषयको पनि अध्यापन गर्नु भएको छ । यसैगरी उच्च माध्यमिक तह र स्नातक तहमा पनि पत्रकारिता विषयको अध्यापन गर्नु भएका पाण्डेलाई एक अर्थमा नेपालमा पहिलो पत्रकारिता अध्यापक भन्न सकिन्छ ।

पत्रकारिता नपढे पनि लगातार पत्रकारिता गर्नु भएको कारणले पाण्डेले पत्रकारिता पढाउनु भएको हो । सैद्धान्तिक ज्ञानसँगै अनुभवको पनि खानी हुनुभएका पाण्डेले हेटौंडाबाट प्रयास साप्ताहिक प्रकाशन गर्नु भएको थियो । पहिले प्रयास साहित्यिक त्रैमासिक थियो अनि कालान्तरमा समाचारमूलक अखबारमा रुपान्तर भएको थियो । प्रयासलाई पछिल्लो चरणमा उहाँले अर्ध साप्ताहिक बनाउनु भएको थियो । हेटौंडा बसाइँको समयमा प्रयासमा करिब एक दशक यस पंक्तिकारले पनि कलम चलाउने मौका पाएको थियो । पत्रकारितामा पाण्डेले जनपक्षीय विचारको प्रस्तुत्लिाई आफ्नो धर्म बनाउनु भएको थियो ।

मुख्य गरी श्यामप्रसाद शर्माका रचनाहरुलाई पाण्डेले निरन्तर प्रकाशन गरिरहनु भयो । पत्रिकाको बागडोर सम्पूर्ण रुपम आफ्नो हातमा लिएको समयदेखि आफू जीवित रहुञ्जेल पाण्डेले यस धर्मलाई कहिल्यै डग्न दिनुभएन । पाण्डेले पत्रकारितामा कैयौँ शिष्यहरु उत्पादन गर्नुभयो । अनुज पुस्ता उत्पादनमा पाण्डेको मकवानपुरमा अतुलनीय योगदान रहेको छ । यसैगरी पत्रकारिता अध्यापन गराएर पाण्डेले मकवानपुर र आसपासका जिल्लाहरु माझन् अनगिन्ती पत्रकार उत्पादन गर्नुभएको छ । मकवानपुरको लागि पाण्डेलाई पत्रकारिताका गुरु भन्दापनि फरक पर्दैन ।

अहिले मकवानपुरलाई साहित्यको राजधानी भनिन थालिएको छ । मकवानपुरमा साहित्यको विस्तारमा साहित्य संगम मकवानपुरको ठूलो हात छ । साहित्य संगम मकवानपुरको स्थापनामा नै कौशल पाण्डेको भूमिका रहेको छ । पाण्डेले प्रगतिशील लेखक संघ, जनवादी साहित्य समाज जस्ता विभिन्न साहित्यिक संस्थाको गठन र संचालनमा पनि विशिष्ट भूमिका खेल्नु भएको थियो । प्रसिद्ध प्रगतिवादी साहित्यकार श्याम प्रसाद शर्माको देहावसानपछि उहाँको नाममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको गठन गरी संस्थापक अध्यक्ष भएर पनि काम गर्नुभयो । पाण्डे आफैँ पनि साहित्यकार हुनुहुन्थ्यो । उहाँका दर्जनौँ रचनहरु इत्रतत्र छरिएर रहेका छन् । यसरी प्रतिभा उत्पादन, प्रतिभाको विस्तार, साहित्यसिर्जना, साहित्यको प्रकाशन, संस्थाको निर्माण र संचालन आदि क्षेत्रमा पाण्डेले निकै ठूलो योगदान दिनुभएको छ ।

शिक्षण, पत्रकारिता र साहित्यका त्रिवेणी कौशल पाण्डे राजनीतिमा पनि उच्चस्तरको दख्खल राख्ने व्यक्तित्व हुनुहुन्थ्यो । मूलतः श्यामप्रसाद शर्मालाई आफ्नो आदर्श मान्ने र वामपन्थी विचारलाई जीवनमा दर्शनका रुपमा लिने पाण्डेको राजनैतिक जीवन श्यामप्रसाद शर्माकै सेरोफेरोमा बढी केन्द्रित देखिन्छ । शर्माको राजनीतिक दलको केन्द्रीय सदस्यको रुपमा रहेर गाउँ–गाउँमा राजनीतिक जागरण ल्याउनु भएका पाण्डे पछिल्लो चरणमा माओवादी विचार सित नजिक हुनुहुन्थ्यो । हिंसाको ठाडो समर्थन नगर्ने तर, वैचारिक समर्थन गर्ने पाण्डेको राजनैतिक दर्शन प्रजातान्त्रिक समाजवादी किसिमको देखिन्छ ।

श्यामप्रसाद स्मृति प्रतिष्ठान नेपाल, मकवानपुरले प्रकाशन गरेको प्रस्तुत कृति ‘स्मृतिका पानाहरू’ मा अञ्जलि थापा, अरुण खतिवडा, आरआर चौलागाईँ, ऋषिराम पोखरेल बकिमहे, कृष्णप्रसाद घिमिरे, कृष्णप्रसाद दाहाल, गोकर्ण खनाल, जनार्दन खनाल, देवराज खरेल, नवराज शर्मा, नानीमाया विष्ट, नानीमैयाँ अधिकारी, निमेष निखिल, पुरनबहादुर जोशी, बिमल केशरी पौड्याल, बिमल निभा, मणिराज गौतम, मिनेन्द्र भण्डारी, डा।मुकेशकुमार चालिसे, मुक्तिबन्धु, मोदनाथ पोखरेल, मोहनदुलाल, रामबाबु थापा, रामकृष्ण भण्डारी, राधा तिमल्सिना, वनमाली सुवेदी, शङकरराज बानियाँ (सागर), शिवकुमार श्रेष्ठ, शेषमणि आचार्य, श्रीराम पाण्डे, सञ्जय साहमित्र, डा। सम्राट तुम्बाहङ्फे, साम्ब ढकाल, सुरेश श्रेष्ठ, सुबास खनाल, सुशील मुडभरी, सूर्यचन्द्र न्यौपाने जस्ता अग्रज, समकालीन र अनुज तथा शिष्यले विभिन्न कोणबाट आफ्नो सम्बन्ध जनाउँदै पाण्डेको बहुआयामिक व्यक्तित्वको बारेमा आलेखहरु लेख्नुभएको छ ।

यी आलेखहरुबाट पाण्डेको ओजपूर्ण जीवन र जीवनका विभिन्न पाटाहरुबारे सङ्क्षेपमा जानकारी प्राप्त हुन्छ । यसैगरी कृतिको अन्त्यमा पाण्डेका केही रचनाहरु प्रस्तुत गरिएका छन् । जसले यस कृतिको ओज बढाएको छ । एकाध प्रसंग, सम्झदै जाँदा, दृष्टिकोणकै कुरा, यथार्थ र अनुभूति, बुढो बाज सम्मानित भएछ तथा सहयात्री शीर्षकका कविता, लेख र निबन्धहरुमा पाण्डेको लेखनशैली र स्पष्ट वैचारिक धरातल देख्न सकिन्छ । सदैव सरल भाषामा साहित्य लेखिनुपर्छ भन्ने विचारका पक्षधर पाण्डेका रचनाहरुले यसै विचारको प्रतिनिधित्व गरेका छन् । ‘स्मृतिका पानाहरू’ स्मृति लेख, जीवनी, समीक्षा र कविता समेटिएको स्मृति ग्रन्थ हो । यसको सम्पादन गर्नुभएको छ भरत दुलालले । प्रकाशनको चाँजोपाँजो मिलाउनु भएको छ इन्द्र नेपालले । पाण्डेको देहावसानपछि नेपाल नै प्रकाशक संस्थाको कार्यवाहक अध्यक्ष हुनुहुन्छ, एक अर्थमा उत्तराधिकारी पनि ।

‘स्मृतिका पानाहरू’ पाण्डेप्रति चढाइएको श्रद्धाको फूल हो । पाण्डेको जीवन दर्शनलाई बुझ्ने ऐना हो र संघर्षको दस्तावेज हो । वैचारिक अडानको दृढ संकल्प पनि हो । जनताको लागि बाँच्ने र देशको उज्यालो भविष्यको सपना देख्ने सच्चा सपूतको सन्देश हो । साहित्यकार, पत्रकार, शिक्षक तथा राजनीतिकर्मीको लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ । एक मानिसले आफ्नो जीवनमा के कति गर्न सक्छ, त्यसको दृष्टान्त हो । प्रकाशन उपसमितिमा रहनुभएका ऋषिराम उपाध्याय पोखरेल, रामबाबु थापा, नानीमैयाँ बिष्ट, अनिता न्यौपाने र शङ्कर राज बानियाँले एउटा युगलाई समेट्ने स्तुत्यकार्य गर्नुभएको छ – ‘स्मृतिका पानाहरू’ को प्रकाशन गरेर । यस ग्रन्थले पाण्डेका साथै प्रकाशन परिवारलाई पनि अमर बनाएको छ ।

(साहित्यमा मकवानपुरको महक: शृङ्खला २७)