डेंगुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । गत जनवरी १ देखि ७ अक्टोबरसम्म डेंगु संक्रमणबाट सो संख्यामा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, सो अवधिमा १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् ।
प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु पुष्टि भएको छ ।
यसैगरी, बागमती प्रदेशमा ५ हजार ५७१ जनामा, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।