भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार १५:४९

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ । कारगारका कैदीबन्दीलाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीनको नेतृत्वमा कारागार पुगेको टोलीले खसी र खाद्यान्न सहयोग गरेको हो ।

नेपालीहरुको महान पर्व विजयादशमीको उपलक्ष्यमा भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पाख्रीनले जानकराी दिए ।

वडाध्यक्ष पाख्रीन, वडा सदस्यहरु रामप्रसाद चौरेल, सुधारजीत गोले, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा युवा व्यवसायी राजकुमार गोले, नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानोकान्छा थिङले बुधबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दशैँ मनाउन खसी र चिउरा हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष पाख्रीनले कारागारमा रहे पनि नेपालीहरुको ठूलो पर्व दशैँमा शुभकामना आदान–प्रदानसँगै भातृत्वको सम्बन्ध स्थापित गर्न खसी र खाद्यान्न उपलब्ध गराइएको बताए ।

सो अवसरमा कारागार पुगेको टोलीले मकवानपुरगढी गाउँपालिका घर भएका कारागारमा रहेका कैदीबन्दीसँग शुभकामना आदानप्रदान गरेका थिए । कारागारमा मकवानपुरगढीका २१ जना कैदीबन्दी रहेको कांग्रेस युवा नेता राजकुमार गोलेले बताए ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक रहेका छन् ।