७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

तु खबर संवाददाता
२०८१ आश्विन २३,बुधबार १७:१४

काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ को साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ र भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ भने साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो ।