एक महिनामा ५३ हजार नेपाली विदेशीय

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १६:५३

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा ५३ हजार नेपाली विदेशीयका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोज महिनामा ५३ हजार ५२५ जना विदेशीयका हुन् ।

जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेका छन् । तीमध्ये ३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

असोजमा ६४२ म्यानपावर कम्पनीले २४ हजार ३९१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् ।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिएर आठ हजार ९३८ जना र जी–टु–जी मार्फत् ८४० जना वैदेशिक रोजगारीमा गएका हुन् ।

असोजमा ७५ जना उच्च जनशक्ति, ३३० जना व्यावसायिक, पाँच हजार ७६३ जना अर्ध दक्ष, ३३ हजार ९१९ जना दक्ष र १३ हजार ४३८ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

यो संख्या गत वर्षको असोज महिनाको तुलनामा दुई हजार ७१० जना कम हो । गत वर्षको असोजमा ५६ हजार २३५ जना वैदेशिक रोजगारीका लागि विदेशीयका थिए ।