प्रधानमन्त्रीद्वारा पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न निर्देशन

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १७:०३
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई निर्देशन दिएका छन् ।

उनले गत असोज १० गतेदेखि १२ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न निर्देशन दिएका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।

परिषद्का अध्यक्ष समेत रहेका उनले घटनाबाट दिवंगतहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै खोज, उद्धार, राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरुका रोकिएका स्थितिमा दशैँ अगावै सम्पूर्ण प्रयासहरु गरेर नाका बाटाहरु संचालनमा ल्याइएकोमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद  व्यक्त गरे ।