रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालन

तु खबर संवाददाता
२०८१ कार्तिक २,शुक्रबार १८:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएसँगै सिआईबीको टोली परिचालन गरिएको हो ।

सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई कास्की अदालतले पत्र पठाएको छ । यससँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी गरिरहेको जनाइएको छ ।

सीआईबी टोली पुग्नुअघि रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो सहभागिता छ । सूचना संकलनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको बुझिइएको छ ।

स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर आजै कास्की पठाउने प्रहरीको तयारी रहेको छ ।