मकवानपुरमा रक्षा संवाददाता अभिमुखीकरण सम्बन्धी पाँच दिने तालिम सुरु

तु खबर संवाददाता
२०८१ कार्तिक ४,आईतवार १९:२१

मकवानपुर । मकवानपुरमा  रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओपी) सम्बन्धी पाँच दिने तालिन सुरु भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा आजबाट सुरु भएको हो ।

तालिम मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १, स्थित श्री मध्य पृतना हे.क्वा सुपारेटार ब्यारेकमा आजबाट सुरु भएको हो । उक्त तालिमको मध्य पृतनापति उपरथी प्रदीप जङ्ग केसीले उद्घाटन गरेका थिए ।

सो क्रममा बोल्दै उनले नेपाली सेनाले गरेको कामलाई आम नेपाली जनतासमक्ष पुर्याउन सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संचारकर्मी र नेपाली सेनाबीच समन्वय आवश्यक रहेको भन्दै सत्यतथ्य समाचार संप्रेशण गर्न आग्रह गरे ।

यस्तै, जनसम्पर्क तथा सूचना निर्देशक एवम् सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम तथा टेलिभिजन कार्यक्रम (माटोले माग्दैन आँफैले दिनुपर्छ) प्रसारण गर्ने मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका पाँच वटा एफ.एम. (रेडियो) र तीन वटा टेलिभिजनका सञ्चालकहरुलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।

नगद तथा कदरपत्र प्राप्त गर्नेहरुमा क्रमशः टिम टेलिभिजन (मकवानपुर), अभियान टेलिभिजन (चितवन), कालिका टेलिभिजन (चितवन), रेडियो लाङटाङ (रसुवा), सेफर्ड एफ.एम.(चितवन), रसुवा एफ.एम.(रसुवा), रेडियो राजमार्ग (धादिङ) र रेडियो धार्दिङ (धादिङ) रहेका छन् ।

तालिममा मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका मकवानपुर, धादिङ, चितवन, रसुवालगायतका जिल्लाहरुबाट १५ जना संचारकर्मीहरुले सहभागिता जनाएका छन् ।

कात्तिक ८ गतेसम्म संचालन हुने तालिमको आज पहिलो दिन मकवानपुरका अग्रह पत्रकार प्रताब विष्टले पत्रकारिताको अनुभव र पत्रकार आचार संहिताबारे प्रस्तुतीकरण दिएका थिए भने मेजर बासु थापाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रमको महत्व, जनसम्पर्क तथा सूचना निर्देशनालयको जिम्मेवारी, नेपाली सेना र सञ्चार जगतसँग समन्वय लगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै, सहायक चिफ स्टार्फ (तालिम), प्रमुख सेनानी रन्जन कुमार कार्कीले नेपाली सेनाको परिचय, स्थापना, जिम्मेवारी श्रेत्र, सीमाको स्तम्भ, पृतनालाई प्राप्त जिम्मेवारीलगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यसैगरी, संघीय रक्षा मन्त्रालयको उपसचिव (कानून) सम्झना खनालले रक्षा मन्त्रालयको कार्यक्षेत्र, रक्षा मन्त्रालयको संगठन र दरबन्दी, नेपाली सेनासँग संबैधानिक व्यवस्था, आगामी कार्यदिशा र राष्ट्रिय सुरक्षा नीतिबारे जानकारी गराएकी थिइन् ।