स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु

तु खबर संवाददाता
२०८१ कार्तिक ५,सोमबार १७:१२

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । गोष्ठी स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबारबाट हेटौंडामा सुरु भएको हो ।

गोष्ठीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले एक समारोहबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाउन प्रदेश सरकारले गर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारले सरकारमा बसेर नीति बनाउने र त्यसलाई कर्मचारीले कार्यान्वयनमा ल्याउनुपर्ने औल्याए ।

यस्तै, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले यो समिक्षा गोष्ठीसँगै गत वर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडि बड्ने दृढता व्यक्त गरे । उनले संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यका साथ काम गरिएको पनि उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरु, सचिवहरु, स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिपत रहेको थियो ।

प्रदेशका जिल्ला स्वास्थ्य कार्यालय, अस्पतालहरुका प्रमुख तथा प्रतिनिधिहरुसहितको सहभागीता रहेको उक्त गोष्ठी तीन दिनसम्म संचालन हुनेछ ।