मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने

तु खबर संवाददाता
२०८१ कार्तिक ७,बुधबार १६:५४

मकवानपुर । मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ ।

तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

पालिकाले तीन कट्ठाभन्दा धेरै क्षेत्रफलमा प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा दुई हजार पाँच सय र आलु खेती गर्ने किसानलाई प्रतिकठ्ठा एक हजार पाँच सय रुपैयाँ अनुदान दिने भएको हो । पालिकाका अनुसार आलुको लागि न्यूनतम ५ कट्ठा र प्याजको लागि न्यूनतम ३ कट्टा खेती गरिएको जग्गा हुनुपर्ने उल्लेख छ ।

मनहरी गाउँपालिका कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत आलु र प्याजमा मूल्य अनुदानका लागि दश लाख रुपियाँ विनियोजन गरिएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । उत्पादन पश्चात् क्षति न्यूनिकरणको लागि कोल्ड स्टोरेजको भाडा शुल्कमा किसानलाई शतप्रतिशत अनुदान दिइने उनको भनाई छ । यसका लागि पालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मकवानपुरको तरकारी खेतीको पहिलो पकेट क्षेत्रको रूपमा थाहा नगरपालिका रहेको छ भने दोस्रो तरकारी उत्पादन गर्ने क्षेत्रको रूपमा मनहरी गाउँपालिका रहेको छ । यहाँ काउली, आलु, बन्दा, भन्टा, काँक्रो लगायतको व्यावसायिक नगदेबाली उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती, ड्रागन खेती र कुरिलो खेतीतर्फ पनि यहाँका किसान आकर्षित भएका छन् । यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन् ।