सवारी दुर्घटनामा चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ कार्तिक ७,बुधबार १७:०२
सांकेतिक तस्वीर

मकवानपुर । हेटौंडालाई काठमाडौँसँग जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बगुवामा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भट्टेडाँडा प्रहरी चौकीले दिएको जानकारी अनुसार दक्षिण ललितपुरको बगुवा नजिकै मासखोलास्थित कान्तिलोकपथमा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेर हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बोलेरो गाडी बुधबार बिहान् दुर्घटनामा परेको हो ।

प्रहरी चौकीका अनुसार गाडी दुर्घटनापछि चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । चालक चितवन १६ भरतपुरका अन्दाजी २७  वर्षीय भरत लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ ।

सहचालकको परिचय खुल्न सकेको छैन । गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको छ । गाडी सडकबाट खसेर भीरमा करिब ४ सय मिटर तल पुगेको छ ।