लागूऔषध ओसारपसार र चोरीमा संलग्न ९ जना पक्राउ

तु खबर संवाददाता
२०८१ कार्तिक ८,बिहीबार १८:३४

मकवानपुर । मकवानपुरबाट लागूऔषध र चोरीमा संलग्न ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विहिबार पत्रकार सम्मेलनमार्फत् एकमुष्ठ रुपमा घटना सार्वजनिक गरको हो । प्रहरीले १०५ किलो ६९ ग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा– १९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नंबरको योद्धा पिकअप गाडी र गाडी भित्र रहेका वडा नंबर– ३ बसामाडी बस्ने २४ वर्षीय पन्चलाल थिङलाई गाँजा सहित पक्राउ गरिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए ।

त्यसैगरी हेटौंडा सिमेन्ट उद्योगबाट तार चोर गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् । हेटौंडा ९ लामसुरे स्थित हेटौंडा सिमेन्ट उद्योगको पश्चिम तर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ ईन्च र ४ ईन्चको बिजुलीको तामाको तारहरु काटेर चोरी गरेको घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी उपरिक्षक खड्काले बताए ।

चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा सोधपुछ गर्दा हेटौंडा– १३ बस्ने २८ वर्षीय सन्तबहादुर तितुङलगायत अन्य ५–७ जना व्यक्तिहरु मिली उक्त बिजुलीको तारहरु चोरी गरी उद्योग नजिकै प्लटिङ गरेको जग्गामा ल्याई तारहरु छिलि हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साहलाई बिक्री गरेको भनि खुल्न आएकोले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी हेटौडा–८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त चोरीको सामान सहित हेटौंडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई , २५ वर्षीय समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षीय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरी जनाएको छ ।
त्यस्तै हेटौंडा–८ क्याम्पास्थित हेटौंडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने हेटौंडाको कमाने बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हेटौंडा–२ स्थित शान्तीटोल बस्ने राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्वरकोे यामाहा कम्पनीको मोटरसाइकल पार्कीङ गरी राखेको अवस्थामा चोरी भएकोमा खोजतलास गर्ने क्रममा पशुपतिनगरबाट उक्त चोरीको मोटरसाइकल सहित चोरी गर्ने हेटौंडा–८ बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाही भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरगढी २ शिखरकटेरीस्थित कान्तीलोकपथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौंडातर्फ लादै गरेको अवस्थामा फेला पारी उल्लेखित समानसहित निजहरु राजेश्वर चौधरी र राहुल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।