दिपावलीको अवसरमा बकैयामा जेके एफसी कप सुरु
![](https://www.tukhabar.com/wp-content/uploads/2024/10/football-1.jpg)
मकवानपुर । नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नम्वर ९, च्याउच्याउमा जेके एफसी कप सुरु भएको छ । उक्त कप बकैयाको जेके फुटबल क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको हो ।
उद्घाटन खेलमा जेके एफसी ‘ए’ ले विजयी सुरुवात गरेको छ । जेके एफसी ‘ए’ ले कान्द्राङ एफसीलाई १०–० गोल अन्तरले पराजित गर्दै विजयी हाँसिल गरेको हो ।
उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष बीरबहादुर सिंतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि बानियाँले खेलको माध्यमबाट देशलाई चिनाउने कार्यको सुरुवात भइरहेको बताए । क्रिकेट, फुटलबललगायत खेलको माध्यमबाट बिस्तारै नेपालको नाम चर्चामा आउँन लागेको बताउँदै नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले पनि खेलमा लगानी बढाउनुपर्ने बताए ।
कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष दामोदर खनाल, बकैया ९ का वडाध्यक्ष टंकध्वज लोप्चन, बकैया खेलकुद विकास समितिका संयोजक विजय थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
आगामी कात्तिक १४ गतेसम्म संचालन हुुने उक्त प्रतियोगितामा २६ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष सिंतानले बताए । प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमशः नगद ३० हजार, १५ हजारसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।