जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार ०९:३१

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २, दुम्कौलीमा जंगली च्याउको तरकारी खाँदा ५ जना बिरामी भएका छन् ।

गएराति स्थानीय धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिरामी हुनेहरुमा स्थानीय ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी रहेका छन् ।

प्रहरीका अनुसार, च्याउँको तरकारी आएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो ।

उनीहरु सबै जनाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।