बागमती प्रदेश प्रमुख देबकोटासमक्ष प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ कार्तिक ११,आईतवार १६:०५

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देबकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको कार्यालयबाट आर्थिक वर्ष २०८०–०८१ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरी तयार गरेको प्रतिवेदन पेश गरिएको हो ।

आइतबार एक कार्यक्रमबीच आयोगको हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले प्रदेश प्रमुख देबकोटासमक्ष सो कार्यालयको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधार ३ को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश गरिएको प्रदेश प्रमुखको कार्यालय जनाएको छ ।

प्रदेश प्रमुख समक्ष पेश गरिएको उक्त प्रतिवेदनमा ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ । आयोगको कार्यालय, हेटौंडामा आर्थिक वर्ष २०७९–८० बाट जिम्मेवारी सरेर आएका समेत कूल ३ हजार १५३ उजुरीमध्ये २ हजार २४२ अर्थात ७१ दशमलव ११ प्रतिशत उजुरीहरु विभिन्न माध्यमबाट फर्छयौट भएका छन् ।

तीमध्ये सबैभन्दा बढी उजुरी परेका क्षेत्रहरू क्रमशः संघीय मामिला (स्थानीय तहसमेत) का ३८ दशमलव ७६ प्रतिशत, शिक्षा (स्थानीय तहसमेतका) १२ दशमलव ५२ प्रतिशत, प्रदेश भौतिक पूर्वाधार विकास (भौतिक पूर्वाधार र यातायात मन्त्रालय मात्र) का ४ दशमलव ४० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसँग सम्वन्धित ३ दशमलव ८७ प्रतिशत, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण (वन वातावरण मात्र) का २ दशमलव ८४ प्रतिशत रहेका छन् ।

उल्लिखित क्षेत्रहरू बाहेकका अन्य विविध विषयहरूसँग सम्बन्धित उजुरीहरू ७ दशमलव ३८ प्रतिशत रहेका छन ।