हेटौंडामा बढ्यो तिहारको चहलपहल, छैन व्यापार

सम्झना थापा
२०८१ कार्तिक १३,मंगलवार १६:४४

मकवानपुर । नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली (तिहार) को रमझम सुरु भईसकेको छ । आज तिहारको पहिलो दिन सर्वसाधारणको चहलपहल नेपालका विभिन्न स्थानहरुमा जस्तै गरी बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा पनि बढेको छ ।

बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारण र कामका सिलसिलामा घरभन्दा बाहिर गएकाहरु घर फर्केर आउने क्रम बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको हो । तर, चहलपहल बढेपनि बिगतको तुलनामा यस वर्ष व्यापार घटेको व्यवसायीहरु बताउँछन् ।

तिहारको समयमा अन्य सामाग्रीभन्दा बढी भाइमसलाको व्यापार अलि बढी नै हुने गरेको पाइन्छ । भाइटीकाको दिनमा सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई सँगुनको रुपमा दिने भाइमसला हेटौंडाको प्रमुख चोकदेखि गल्ली–गल्लीसम्म पुल खोलेर बिक्रीका लागि राखेका छन् ।

भाइमसलाको मूल्य बढेर आएको छ । यो वर्ष बजारमा काजु, किसमिस, ओखर, बदाम, छोकडा, पेस्ता र नरिवल सबैको भाउ बढेको बुद्धचोकका व्यापारी महेन्द्रमान श्रेष्ठले तु खबरलाई बताए ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत व्यापार घटेको भन्दै उनले भाइटीका आउँन अझै केही दिन बाँकी रहेकाले थप व्यापार हुने आशा गरिएको बताए ।

यस्तै, तिहारको समयमा खपत हुने माटोको पालाको पनि व्यापार घटेको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा केही वर्षदेखि माटोको भाडा बिक्री गर्दै आएका लक्ष्मी प्रजापति बताउँछिन् । उनी भन्छिन्, ‘अन्य समयभन्दा तिहारको बेलामा माटोको पाला अलि बढी बिक्री हुने गरेपनि यसवर्ष खासै व्यापार छैन । हामीलाई सामान हाल्नलाई पनि धौं–धौं भइरहेको छ ।’

यसैगरी, अघिल्लो वर्षमा बढी मात्रामा बिक्री भएको प्लाष्टिकको फूल यस वर्ष भने बिक्री नभएको अर्का व्यापारी हिरालाल दासले बताए । विगत १५ वर्षदेखि सोही स्थानमा व्यापार गर्दै आएको उनले अघिल्लो वर्षमा यस समयमा भ्याइनभ्याइ हुने गरेको भन्दै व्यापार नभएको सुनाए ।

अर्का व्यापारी चायल गुप्ताले पसल बाहिर फुल झुण्ड्याएर राखिएको भएपनि यस वर्ष तिहार सुरु भइसक्दा पनि व्यापार नभएको बताए । ‘अघिल्लो साल भ्याई नभ्याईकन व्यापार हुनेथियो । यस वर्ष भने हामी ठन्डाराम नै छौं ।’, उनले भने ।

यस्तै, तिहारको समयमा खपत हुने झिलिमिली बत्ती, भाँडाबर्तन, मिठाई र लत्ताकपडाको पनि व्यापार घटेको व्यापारीहरु बताउँछन् । अन्य दिनभन्दा केही व्यापार भएपनि तिहारको समयमा हुनपर्नेजति व्यापार नभएको उनीहरु बताउँछन् ।