हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा–९ र हेटौंडा–१५ बाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
प्रहरीले ७० क्यापसुल लागूऔषध ट्रामाडोलसहित मंगलबार हेटौंडा–९, लामसुरे हाईटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाह नगरपालिका–२ घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्ने वर्ष २३ को शिव शंकर पाण्डे रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
यस्तै, प्रहरीले ७५ एम्पुल लागूऔषध डाईजेपामसहित मंगलबार नै हेटौंडा–१५, रातोमाटे चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने वर्ष २५ को मनोज साह रहेका छन् ।
उनलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४३१ नं. को यात्रुबाहक ईभी गाडीलाई चेकजाँच गर्दा उनको साथबाट सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूी प्रकृया अगाडि बढाइएको छ ।