सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन

तु खबर संवाददाता
२०८१ कार्तिक १४,बुधबार १७:४५

मकवानपुर । श्री मध्य पृतना हेड.क्वा. द्वारा संचालित सि.सं. १२ सैन्य आधारभूत तालिमको अन्तिम दलेल कवाज प्रदर्शन सम्पन्न भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्थित उक्त हेड.क्वा.ले आयोजना गरेको ९ महिने सैन्य आधारभूत तालिमको बुधबार समापन गरिएको हो ।

तालिमको समापन हे.क्वा. का पृतनापति उपरथी प्रदीप जङ्ग केसीको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा उनले तालिम उत्र्तिण गरेका १०३ जना जवानहरुलाई शुभकामना दिँदै नेपाली सेना, राष्ट्र, राष्ट्रियता र नेपाली जनताप्रति पूर्ण बफादार हुन आग्रह गरे ।

नेपाली सेनाले आफुमा रहेको सिप, कला र कौशललाई राष्ट्रको संरक्षणको लागि आत्मसात गरेर अघि बढ्नुपर्ने भन्दै राष्ट्रको सार्वभौम र संविधानप्रति कर्तव्यनिष्ठ भई सेवाभावले अघि बढ्न निर्देशन दिए ।

सो अवसरमा सैन्यबाट तालिम प्राप्त गरी सिपाहीको स्थायी सेवा प्राप्त गरेका जवानहरुलाई दर्जानी चिन्ह्र प्रदान गरिएको थियो । दर्जानी चिन्ह्र प्राप्त गरेलगतै सैन्यबाट सिपाही भएकाहरुले शपथ ग्रहण गरेका थिए ।

यसैगरी, दलेल कवाज प्रदर्शनमा उत्कृष्ट अंक ल्याउनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गर्नेहरुमा हुनेहरुमा क्रमशः सागर राई, निराजन बोहोरा, विपिन राई, रमेश जबेगु, मिलन मगर र सौगात राई रहेका छन् । उनीहरु सबैलाई प्रमुख अतिथि पृतनापति केसीले पुरस्कार हस्तान्तण गरेका थिए ।

यस्तै, पृतनापति केसीले गोरख बहादुर गण मकवानपुरका प्रमुख सेनानी सुबास दाहाललाई पनि सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूणबहादुर दर्जी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, तीन वटै सुरक्षा निकायका उच्च प्रमुखहरु, विभिन्न स्थानीय तहका प्रतिनिधिहरु, सञ्चारकमीहरुको सहभागिता रहेको थियो ।