मेयर कप स्नुकरको उपाधी कर्मचार्यलाई

तु खबर संवाददाता
२०८१ कार्तिक १५,बिहीबार ०८:२३

मकवानपुर । हेटौंडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको उपाधी आयोजक एस वान स्नुकर क्लबका खेलाडी प्रयास कर्मचार्यले जितेका छन् । बुधबार हेटौंडा १० स्थित एस वान स्नुकर क्लबमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा लियम स्नुकर क्लबका खेलाडी जीनेश श्रेष्ठलाई ५–३ को सेटले हराउँदै एस वान स्नुकर क्लबका खेलाडी प्रयास कर्मचार्यले उपाधी हात पारेका हुन् । यस्तै प्रतियोगितामा रोयल स्नुकर हाउसको खेलाडी बिनय लामा र लियम स्नुकर हाउसका मिथुन लामा तृतीय भएका छन् ।

उपाधी जितेसँगै कर्मचार्यले ६० हजार रुपैयाँको नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता श्रेष्ठले ३० हजार रुपैयाँको नगदसहित शिल्ड मेडल पाएका छन् । तृतीय भएका खेलाडी बिनय र मिथुनले ६/६ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

बुद्ध स्नुकर हाउसका खेलाडी विबेक डङ्गोल राइजिङ प्लेयर घोषित हुँदै ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शनी गर्न सफल भएका रोयल स्नुकर हाउसका खेलाडी राजकुमार गोले, ज्येष्ठ अनुभवी खेलाडी बुद्ध स्नुकर हाउसका खेलाडी दीपक बहादुर तामाङले मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने ४३–४३ स्कोर बनाएर हाइ स्कोरर हुन सफल जीनेश श्रेष्ठ र प्रयास कर्मचार्यले प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सेमीफाइनल चरणको खेल वेष्ट अफ ७ मा खेलाइएको थियो भने फाइनल खेल वेष्ट अफ ९ मा खेलाइएको थियो ।

मंगलबार सम्पन्न भएको सेमीफाइनल चरणको खेलमा प्रयास कर्मचार्यले बिनय लामालाई ४–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेका थिए भने जीनेश श्रेष्ठले मिथुन लामालाई ४–२ को सेटले हराउँदै फाइनलमा प्रवेश गर्न सफल भएका थिए । एस वान स्नुकर हाउस, बुद्ध स्नुकर हाउसको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगितामा ४४ जना खेलाडीहरु सहभागी थिए ।

बुद्ध स्नुकर हाउसको सञ्चालको सञ्जु लामाको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा सदस्य जेन श्रेष्ठको प्रमुख आतिथ्यमा बुद्ध स्नुकर हाउसमा पुरस्कार वितरण कार्यक्रम भएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तथा वडा सदस्य श्रेष्ठले समाज र राष्ट्रिय निर्माणका लागि खेलको प्रतियोगिताहरुले ठूलो भूमिका निर्वाह गर्ने बताए । फुटबल, भलिबल लगायतका खेलमा जस्तै स्नुकरलाई पनि प्राथमिकता दिएर बजेट लगानी गरेमा खेलाडीहरु राष्ट्रियस्तर सम्म पुग्न सक्ने उनले बताए । स्नुकरको विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर मकवानपुरका खेलाडीहरुले पनि आफ्नो पहिचान बनाउन सफल भएको उनको भनाई छ । सबै स्नुकर खेलमा आवद्ध भएका पदाधिकारीहरुले स्नुकरको समिति बनाएर यसको विकासको कामका लागि पहल गर्नुपर्ने सुझाव दिए ।

जिल्ला खेलकुद विका समितिका निवर्तमान अध्यक्ष वेश खड्गीले कतिपय संघहरुले खेलकुदमा लगानीको नाममा बजेट खाने काम गर्ने गरेको आरोप लगाए । उनले आफू ३० वर्षदेखि धेरै संघर्ष गरेर खेलमा लागेको कारणले खेललाई राम्रो स्तरमा पुर्याउनका लागि सबै लाग्नुपर्ने बताए । कार्य समिति गठन गरेर स्नुकरको विकासका लागि विधानको निर्माण गर्नुपर्ने उनको सुझाव थियो । खेलकुदको महोत्वस बाट उठेको २० लाख रुपैयाँको अक्षय कोष निर्माण गरेर १ करोडमा पुर्याएर खेलको विकासको लागि लगानी गर्ने आफ्नो लक्ष्य रहेको प्रष्ट पारे ।

पुरस्कार वितरण समारोहमा नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष चन्द्र शाहीको विशिष्ठ आतिथ्य रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रममा एसवान स्नुकर हाउसको सञ्चालक सुनील खड्गी, बिक्रम शाही, बुद्ध स्नुकर हाउसको सहसञ्चालक पुर्ण भक्त लामालगायत स्नुकर हाउसका सञ्चालक तथा खेलाडीहरुको उपस्थिति थियो ।