त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ, रइ नोङ फु रहेका छन् ।
एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले पक्राउ गरेको हो ।
भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा सो परिणामको सुन बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।