हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी

तु खबर संवाददाता
२०८१ कार्तिक २१,बुधबार १२:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समितिले जानकारी दिएको छ ।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत वर्षको भन्दा यो वर्ष झन्डै सय फिट लामो पन्डाल टाँगिएको छ,’ छठ पूजा समारोह समितिका संयोजक रवि गुप्ताले भने, ‘राप्ती खोला ठूलो भएकाले व्यवस्थित गर्न केही समय बढी लागेको छ, तर हामी तयारीको अन्तिम चरणमा पुगेका छौं ।’

तटमा टाँगिएको पन्डालमा ७ सयजना भन्दा बढी व्रतालु अट्ने क्षमताको छ । व्रतालुहरु बिहीबार रातभर त्यही पन्डालमुनि जाग्राम बसेर पूजा गर्नेछन् । छठ पर्वमा व्रतालु र अवलोकन गर्न जानेहरुको संख्या हजारौंको हुने गर्छ । गत वर्ष ६० हजारभन्दा बढीको सहभागिता रहेको आयोजकहरुको दाबी छ । यो वर्ष गत वर्षको भन्दा पनि बढी सहभागी हुने उनीहरुको अनुमान छ ।

तराई÷मधेश, पहाड र हिमाल जोड्ने छठ पर्व अहिले सेतुको रुपमा रहेको छ । समितिका संयोजक गुप्ताले भने, ’यो पर्वले सबै समुदायलाई समेट्दै अगाडि बढेको छ ।’

हेटौंडामा बर्सेनि छठपर्व मनाउनेको संख्या बढ्दै गएको छ । यहाँ बसोबास गर्ने मधेसका हुन् वा पहाडका अधिकांश छठपर्वको दिन राप्तीतट पुग्ने गर्छन् । सूर्यदेवको आराधना र उपासना गर्ने कयौं व्रतालुहरु पहाडीया छन् । छठपर्व विशेषगरी तराईवासीले मनाउने गरे पनि पछिल्लो समय हेटौंडामा तराई तथा पहाडी दुवै समुदायले भक्तिभावले मनाउने गरेको सुशील सिनोरियो बनियाँले बताए ।

बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर पण्डालमुनि छठीमाईको पूजाआज गरेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् । पण्डालमुनि ७ सयभन्दा बढी व्रतालु रातभर सूर्यदेवको आराधना र उपासना गर्नुका साथै छठीमाईको पूजा गर्छन् ।

हेटौंडाको बुद्धचोकदेखि राप्तीतटसम्म सडकको दायाँबायाँ बत्ती बालेर झिलिमिली बनाइएको छ । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आइतबार व्रतालु महिला आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्छन् । यसलाई ‘नहायखाय’ भनिने गरिएको हो ।