संघर्षले अघि बढेको जयरामको खेल जीवन
सवालः सानै उमेरमा खेलकुद क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउन सफल हुनुभएको छ । यहाँसम्म आइपुग्दा थुप्रै संघर्ष, चुनौती र अवसरको आरोह अवरोह पार गर्नुभएको छ । विगतलाई कसरी सम्झनुहुन्छ ?
जवाफः धन्यवाद, कुनै पनि उपलब्धी प्राप्त गर्नको लागि संघर्ष त गर्नैपर्छ । त्यसमाथि पनि म ग्रामिण समाज बागमती गाउँपालिकाको माल्टा भन्ने गाउँमा जन्मिएको सामान्य परिवारको मानिस, बाबाले ज्याला मजदुरी गरेर हामीलाई हुर्काउनुभएको हो । दुख नै गरेर भएपनि मलाई र दाई दिदिहरुलाई बोर्डिङ स्कुलमा पढाउनुभएको थियो ।
बाबाले हामीलाई जसोतसो शिक्षाको प्रबन्ध मिलाउनुभएको थियो । दाई दिदिले त ४ कक्षाबाट पढाई छाडिदिनुभयो । मैले चाँही निरन्तरता दिएँ ।
मलाई कराँते चाँही कक्षा २ मा पढ्दै गर्दा खेल्ने तीब्र चाहाना भएको थियो । खेलकुद क्षेत्रमा मेरो सानैदेखि इच्छा भएपनि घरमा खेलकुदको लागि भनेर पैसा माग्ने वातावरण थिएन । आर्थिक अवस्था कमजोर थियो । परिवारमा खेलकुद क्षेत्रप्रति सकारात्मक बुझाई पनि थिएन ।
मैले घरमा नभनी कराँते सिक्ने निधो गरेँ । मेरो चाहाना र क्षमता देखेर मलाई निशुल्क कराँते सिकाइने प्रबन्ध मिल्यो । तर, म सँग खेल्नको लागि पोशाक भएन । साँच्तै ती दिनहरु मेरा लागि निकै संघर्षपूर्ण र यादगार छन् ।
एक जना साथीले मलाई पोशाक दियो । मैले कराँतेमा यहाँसम्मको उपलब्धी हासिल गर्नुमा उसको ठूलो सहयोग छ । त्यही कपडा लगाएर मैले ६ महिनासम्म तालिम गरेँ । प्रतियोगिताहरुमा म प्रथम हुन थालेँ । तालिमपश्चात् २ वर्षको अन्तररालमा ६ वटा गेम खेलेँ । त्यतिबेलासम्म पनि घरमा मैले थाहा दिएको थिइन । खेल्न जाँदा झोलामा कपडा लुकाएर जान्थेँ । त्यसबेला ह्वाइट बेल्डदेखि ओरेन्ज बेल्डमा जाँदा ३५० रुपैयाँ लाग्थ्यो । त्यस्तै अर्को–अर्को बेल्डमा जाँदा एक/एक सय रुपैयाँ लाग्थ्यो । घरबाट खाजा खान भनेर दिएको पैसा जम्मा पारेर गेम खेल्थेँ । ब्लु बेल्डदेखि ब्राउण्ड बेल्डसम्म जाँदा ३ हजार ५ सय रुपैयाँ लाग्थ्यो । आमा–बाबुलाई नभनीकन आफ्नै प्रयासले मात्रै गेमलाई निरन्तरता दिन नसकिने रहेछ भन्ने लागेर मैले २ वर्ष गेम खेलिन । कक्षा बढ्दै जाँदा मैले घरबाट खाजाको लागि केही थप रुपैयाँ पाउथेँ । त्यसैलाई जोगाएर फेरी गेम सुरु गरेँ । निकै संघर्ष र चुनौतीका साथ म यहाँसम्म आइपुगेको हुँ । पछि पछि त घरमा पनि थाहा भयो । थाहा पाएपछि उहाँहरुले पनि साथ सहयोग गर्दै जानुभयो । अहिले क्यूकोसिन कराँतेको अन्तर्राष्ट्रिय खेलाडी भएको छु ।
सवालः कराँतेमा ब्ल्याक बेल्ड थर्ड डान कहिले प्राप्त गर्नुभयो ?
जवाफः सन् २०२३ मा एउटा प्रतियोगिता भएको थियो, त्यहीबेला बागमती प्रदेशका सांसद जो अहिले युवा तथा खेलकुद मन्त्री हुनुभएको छ । उहाँकै हातबाट मैले ब्ल्याक बेल्ड पाएको हुँ । मेरो खेल क्षेत्रमा उहाँको योगदान महत्वपूर्ण छ । मलाई निरन्तर हौसला दिँदै सुख दुखमा साथ दिँदै यहाँसम्म ल्याउनुभयो । मलाई सानैदेखि कराँते सिकाउनुहुने सिहान जयदेसार गुरुलगायत सम्पूर्ण गुरुहरुको योगदान त म भुल्नै सक्दिन ।
सवालः हालसम्म राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरको कतिवटा खेलमा सहभागिता जनाउनुभयो ?
जवाफः राष्ट्रिय स्तरका थुप्रै खेलहरुमा सहभागिता जनाएको छु । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ४ पटक सहभागी हुने मौका पाएको छु । सन् २०१६ मा भारत, २०१८ मा थाइल्याण्ड, २०२१ म भुटान र २०२१ मै बंगलादेशमा भएको प्रतियोगितामा सहभागी भएँ । र ती चारैवटा प्रतियोगितामा मैले स्वर्ण पदक जितेँ । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन पाउँदा निकै खुसी लाग्यो । त्यसको श्रेय मलाई कराँते सिकाउने गुरुहरु, घर परिवार बुवा आमा मेरा सुभेच्छुक सबैलाई जान्छ ।
सवालः खेलकुद क्षेत्रमा आउन चाहाने नयाँ पुस्तालाई तपाईँको सुझाव के छ ?
जवाफः कि खेल सिक्दै नसिक्नुस, सिक्ने हो भने त्यसको बारेमा पूरा अध्ययन गनुपर्छ र सिकिसकेपछि मैले खेलकुदमार्फत् देशको लागि केही गर्छु भनेर नै लाग्नुहोस् भन्न चाहान्छु । अन्य क्षेत्रभन्दा खेल क्षेत्रमा अलि बढी नै मिहिनेत, लगनशिलता आवश्यक पर्दछ । जसरी होस्, म खेल्छु, खेलेरै छाड्छु भन्ने खालको भावना हुनुपर्छ । हामीले गर्नसक्ने समन्वय सहकार्य गर्न हामी तयार छौँ । तीब्र इच्छाका साथ खेलकुद क्षेत्रमा आउन चाहाने खेलाडीहरुलाई शुभकामना दिन चाहान्छु ।
प्रश्नः तपाईको बुझाईमा खेल क्षेत्रबाट घर परिवार चलाउन सक्ने अवस्था छ कि छैन ?
जवाफः यो खेलकुद जगतकै बिडम्बना हो । खेल क्षेत्रमा लागेका खेलाडीहरुलाई जीवनयापनमै समस्या भइरहेको हामीले देखेका छौँ । कतिपय खेललाई नेपाल सरकारले प्राथमिकता दिएको छ । सरकारले फुटबल, क्रिकेट जस्ता खेललाई प्राथमिकता दिएपनि कराँते भने ओझेलमै छ । त्यसरी हेर्दा कराँते खेलाडीले जीवनयापन गर्न अर्को कुनै रोजगारी वा व्यवसाय पनि गर्नुपर्ने अवस्था छ ।
राज्यले राष्ट्रिय खेलाडीहरुलाई प्रोत्साहन दिने, नगद पुरस्कारभन्दा पनि उनीहरुलाई मासिक तलब दिएर, प्रत्येक पालिकाले आ–आफ्नो पालिकाका खेलाडीलाई शिक्षक बनाएर मासिक तलब दिने गरेर प्रोत्साहन गर्यो भने खेलाडीहरुलाई हौसला मिल्थ्यो जस्तो लाग्छ ।
सवालः आगामी योजनाहरु के–के छन् ?
जवाफः अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर नेपालको नाम अझै चिनाउन चाहान्छु । मेरो गाउँमा आर्थिक अवस्थाका कारण गेम खेल्न छाडेर बसेका भाइबहिनीहरु छन् । आर्थिक स्थितिका कारण पढाई छोडेर गाउँमै बसेका र लागूऔषध दुव्र्यशनीतिर लागेकालाई दुव्र्यशनीबाट टाढा राख्न र यहाँका खेलाडीहरुलाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा पुर्याउन म लागिपर्नेछु । ललितपुरको बागमती गाउँपालिकालाई खेलकुदमैत्री बनाउने मेरो योजना छ ।
सवालः अन्तरवार्ताको अन्तमा के भन्न चाहानुहुन्छ ?
जवाफः खेल भन्दा ठूलो केही छैन । खेलले विश्वसामु चिनाउँछ । यसलाई राज्यले प्राथमिकता दिने हो भने हाम्रो देशका खेलाडीहरु पनि अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन सक्षम छन् । त्यसैले सरकारसँग खेलाडीहरुको हितका लागि रचनात्मक काम गर्न म अनुरोध गर्न चाहान्छु । खेलाडी छनौटमा राजनीति नगरिदिन पनि मेरो सम्बन्धित सबैलाई आग्रह छ । खेल सबैको हो र खेलाडी पनि सबैका हुन् । हाम्रोलाई भन्दा पनि राम्रो खेलाडीलाई छानेर गेममा सहभागी गराउनुपर्दछ । र अन्तरवार्ताको अन्तमा तु खबरलाई पनि धन्यवाद दिन चाहान्छु । समय दिनुभयो । मेरो धारणाहरु मिडियामार्फत् जनतासामु पुर्याउन पाएँ, धेरै धेरै धन्यवाद ।