नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

तु खबर संवाददाता
२०८१ कार्तिक २१,बुधबार १५:४९

काठमाडौं । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता गरिएको छ ।

टिकटकले आवश्यक कागजात पेस गरेसँगै हालै विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम टिकटक दर्ता गरिएको हो ।

यसअघि अश्लीलता फैलाएको भन्दै २०८० कात्तिक २७ मा सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तर, गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो ।

यससँगै आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन गर्नको लागि सहमति जनाउँदै टिकटकले आवश्यक प्रक्रिया पूरा गरेको जनाइएको छ ।

हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने जनाइएको छ ।