अवैध लागूऔषधसहित आठ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रुपन्देही, सुनसरी, बर्दिया, कैलाली र झापाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले रूपन्देहीको देवदह नगरपालिका–९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँसहित ३ जनालाई बुधबार साँझ नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका–२ बस्ने २८ वर्षीय आदित्य शाहलाई नियन्त्रणमा लिएको हो । पुनको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिणामको लागूऔषध र नगद फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–२, हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको नियनत्रणमा हुनेहरुमा इटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामका लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर ४ सय ३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिणामको लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम ११ मिलिग्रामसहित भद्रपुर नगरपालिका–९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त परिणामको लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।