मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु, दुई घाइते

तु खबर संवाददाता
२०८१ कार्तिक २२,बिहीबार १६:३३

मकवानपुर । मकवानपुरमा आज बिहान करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डँडेलधुराको गन्याधुरा गाउँपालिका वडा नम्वर १ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदम बहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान सवा ९ बजेको समयमा जिल्लाको भीमफेदी गाँउपालिका वडा नं. ८ दोभानस्थित सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा डिउटीमा रहेका बेला संचार उपकरणको पाइप गाड्ने क्रममा हाईटेन्सन विजुलीको तारमा पाईपले छुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, करेन्ट लागेर डँडेलधुराको अमरगढि नगरपालिका–२ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही अन्दाजी २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् ।

घाइते उनीहरुलाई तत्काल उद्धार गरी उपचारको लागि हेलिकोप्टरमार्फत् सेनाको अस्पताल छाउनी काठमाडौंमा लगिएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

मृतक दियालको शव घटनास्थलको प्रारम्भिक अनुसन्धानको काम/कारबाही सकी पोष्टपार्टमको लागि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।