माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने प्रचण्डको दाबी
मकवानपुर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलन हुने दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधिवेशनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताए । वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा आक्रोश रहेको भन्दै उनले जनताले पनि फेरि माओवादी केन्द्रको नेतृत्वमा एउटा आन्दोलनको नेतृत्व होस् भन्ने चाहेको दाबी गरे । साथै उनले त्यसका लागि तयार रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले आफ्नो नेतृत्वको पूर्व सरकारले विचौलिया, दलाल र पुँजीपतिको सेटिङ भत्काएपछि आत्तिएका व्यक्तिहरूले एमाले र कांग्रेस नेतृत्वलाई भेटेर सरकार फेर्न दबाब दिएको र बिचौलियाहरूले नै यो सरकार निर्माण गरिदिएको आरोप लगाए ।
उनले आफू अझै ५–७ वर्ष स्वस्थ रहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएसम्म विश्राम नलिने दृढता व्यक्त गरे । वर्तमान सरकारलाई देश लोडसेडिङ मुक्त भएको पनि पटक्कै मन नपरेको भन्दै उनले दलाल पुँजीपतिलाई विद्युत् महसुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनतालाई मात्र तिर्न बाध्य पार्न कुलमान घिसिङलाई निकाल्न खोजेको आरोप लगाए ।
उनले भने, ‘धेरै कुरा भनिराख्न आवश्यक नै छैन । एउटा प्रधानमन्त्रीले देशलाई अँध्यारोबाट उज्यालोतिर लग्यो, अर्को प्रधानमन्त्रीलाई त्यो सह्य भएन, त्यस कारण उज्यालोबाट अँध्यारोतर्फ लान उद्यत छ ।’