करिब एक सय किलोग्राम गाँजासहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित सडकबाट प्रहरीले गएराति अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखु ओखरकोट बस्ने २९ वर्षीय किरण वाग्ले रहेको प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा खाली क्रेटहरूको बिचमा लुकाई छिपाई ल्याएको ११ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वाग्लेलाई पक्राउ गरिएको हो ।
उक्त घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।