(कोप २९) मा सहभागी हुन राष्ट्रपति पौडेल बाकु प्रस्थान
नेपालका राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप २९) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन् ।
राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते आयोजना हुने विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । सो सम्मेलनमा कात्तिक २७ गने उनले सम्बोधन गर्नेछन् भने २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा उच्च स्तरीय सत्र संचालन हुने छ ।
कात्तिक २६ बाट मंसिर ७ गतेसम्म संचालन हुने सो सम्मेलनमा नेपालका वन मन्त्री ऐनबहादुर शाही, सचिव दीपकप्रसाद खराल पनि सहभागी हुनेछन् ।
सम्मेलनमा सहभागी राष्ट्रपति र मन्त्री सम्मिलित टोलीले जनवायु परिवर्तनमा योगदान नभएपनि त्यसको समस्या नेपालले झेल्दै आएकोले क्षतिपूर्ति दावी गर्ने तयारी गरेको छ । यस अघि संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस विषयलाई उठान गरेका थिए ।
कोप २९ लाई फाइनान्स कोप अर्थात् वित्त सम्मेलन भनिएपनि नेपालका तर्फबाट कसरी यो विषय प्रस्तुत हुन्छ त्यसले नेपालले पाउन सक्ने क्षतिपूर्ति तथा अन्य विषयहरु निर्धारण गर्नेछ ।